काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिनुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले पार्टीको हितका लागि फिर्ता लिएको जानकारी दिनुभयो ।
राप्रपाको एकताका लागि यो महाधिवेशन कोशेढुङ्गा सावित हुनुपर्नेमा जोड दिएका उनले सबै नेता कार्यकर्ताप्रति पनि आह्वान गर्नुभयो । नेतृत्वको दाबीबाट पछि हटे पनि आफू राप्रपामै रहने कार्यकर्तालाई विश्वास दिलाएका उहाँले आफू नेतृत्वमा नभए पनि राप्रपा, यसका कार्यकर्ता र देश तथा जनताका लागि आफू सधैँ क्रियाशील भएर लाग्ने बताउनुभयो ।
अध्यक्षका उम्मेदवारद्वय कमल थापा र राजेन्द्र लिङ्देनलाई सहमतिमा नेतृत्व चयन गर्न उहाँले आग्रह गर्नुभयो । प्रजातान्त्रिक विधि र पद्धतिअनुसार इमान्दारको जगमा मुलुक चल्नुपर्नेमा राप्रपा पक्षधर रहेको बताएका अध्यक्ष जबराले तर, प्रजातन्त्र आएका यतिका वर्षमा पनि मुलुकमा विकास र प्रगति भयो भन्ने अवस्था नआएको बताउनुभयो ।