विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण सरकारको पहिलो प्राथमिकता हुने बताएका छन् ।
मुख्यमन्त्रीको शपथ लिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले प्रदेशको नामकरण अहिलेसम्म हुने नसकेकाले यो वर्तमान सरकारको पहिलो प्राथमिकता रहने बताए ।
मुख्यमन्त्री राईले यही कात्तिक २५ गतेभित्र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने जानकारी दिए ।
उनले सरकार सञ्चालनका लागि गठबन्धन दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गरिने जानकारी दिँदै गठबन्धन दलबीच छलफलपछि पुनः बजेट ल्याउन सकिने बताए ।
विकासका कामलाई प्राथमिकता दिन योजना छनोटमा प्रदेश सदस्यको महत्वपूर्ण भूमिका हुने पनि उल्लेख गरे ।