भरतपुरको दुर्गा मन्दिरमा पुजा गर्ने विषयमा भएको विवादमा मृत्यु भएका भीमबहादुर विश्वकर्मालाई न्याय दिन अनेरास्ववियुले माग गरेको छ ।
अनेरास्ववियु अध्यक्ष सुनिता बरालको हस्ताक्षरसहित जारी विज्ञप्तिमा सो घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
‘समाजमा हुने सबै खालका विकृति, विसंगति र कु-सँस्कारहरूलाई निस्तेज पार्दै कानुनी राज्यको अनुभूति दिलाउनु पर्ने सुरक्षा निकायहरु परिचालन हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली समाजमा रहेको जातीय विभेद र विभेद जन्य घटनाका कारण हुने जघन्य अपराधले सिंगो राष्ट्रको शिर निहुरिएको छ । यस्ता विभेद अन्त्यका लागि सबै पक्षहरूलाई रचनात्मक भुमिकाको लागि आह्वान गर्दछौं । ‘
मन्दिरमा पूजा गर्ने विषयमा विवाद हुँदा चितवनको भरतपुर महानगरपालिका– ४ का ५८ वर्षीय भीमबहादुर विश्वकर्माको मृत्यु भएको थियो । भीमबहादुरलाई कुटपिट गरी हत्या गरेकाे अभियोगमा दिलीप श्रेष्ठ र सीताराम क्षेत्री पक्राउ परेका छन् ।