धनुषामा आफ्ना दुई सन्तानको हत्यापछि एक महिलाले आत्महत्या गरेकी छिन् ।
नगराइन नगरपालिका-७ फुलगामाकी २४ वर्षीया गुडिया साहले आफ्ना ५ वर्षीय छोरा अभिषेक र ३ वर्षीय आदित्य साहको हत्यापछि आत्महत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी जितेन्द्र बस्नेतका अनुसार गुडियाले शुक्रबार साँझ डोरीले घाँटी कसेर अभिषेक र आदित्यको हत्या गरेकी हुन् ।
छोराहरूको हत्यापछि गुडियाले घरको सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको डीएसपी बस्नेतले बताए । श्रीमान गुरुदेव साह कामको सिलसिलामा जनकपुर गएका बेला गुडियाले छोराहरूको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको डीएसपी बस्नेतले बताए । घटनास्थलबाट गुडियाले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।