काठमाडौं, ८ असोज । समाज कल्याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।
परिषद्का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले सामूहिक राजीनामा दिएका हुन् ।
सबै पदाधिकारीहरूलाई केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थियो । सरकारले राजनीतिक प्रतिशोध राखेर राजीनामाका लागि दबाब दिएपछि आफूहरूले राजीनामा दिएको उनीहरूको आरोप छ । उपाध्यक्ष खतिवडाले मन्त्री रिक्त रहेको अवस्थामा परिषद् अध्यक्ष प्रधानमन्त्रीबाट वार्षिक नीति, कार्यक्रम तथा अन्य गतिविधिको स्वीकृति लिन खोज्दा टसल परेपछि राजीनामा दिएको उपाध्यक्ष खतिवडाको भनाइ छ ।
‘वार्षिक कार्यक्रम र बजेट स्वीकृत नहुँदा कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आइपर्यो । यही कारणले हामीले राजीनामा दिएर मार्ग प्रशस्त गर्यौँ,’ उनले भने ।
शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत आफूहरूले औपचारिक घोषणा गर्न लागेको खतिवडाले बताए ।