काठमाडौं, २ भदौ । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । डोरमणि पौडेलले बुधबार राजीनामा दिएपछि एमाले बागमती संसदीय दलको बैठकले शाक्यलाई दलको नेतामा चयन गरेको थियो ।
संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकी शाक्यलाई बुधबार साँझ नै मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । नवनियुक्त मुख्यमन्त्री शाक्यलाई प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । शाक्य मंगलबारसम्म एमालेको माधव नेपाल पक्षमा थिइन् । तर, नेपाल समूह एमालेबाट फुटेर नयाँ पार्टी दर्ता गरेसँगै उनी पार्टी विभाजनका विपक्षीमा उभिएकी थिइन् ।
पार्टी एकताका निम्ति नेपालको साथ छोडेकी शाक्यले अन्ततः मुख्यमन्त्रीको जिम्मेवारी पाइन् । शाक्य सात प्रदेशमध्ये पहिलो महिला मुख्यमन्त्री पनि बन्न सफल भइन् । यसअघि बागमतीको पहिलो मुख्यमन्त्री बन्ने दौडमा उनका लागि डोरमणि पौडेल नै बाधक बनेका थिए । सरकार गठनका क्रममा यसअघि संसदीय दलको चुनावमा पौडेलले शाक्यलाई १० मतले पराजित गरेका थिए ।
पौडेलले २४ माघ २०७४ मा देशकै पहिलो मुख्यमन्त्रीका रुपमा शपथ लिएका थिए । पार्टीभित्रको आन्तरिक विवादकै कारण धेरै विवादमा आएका पौडेलले ४२ महिनापछि सरकारबाट बिदा भएका छन् ।
बागमतीमा एक सय ९ प्रदेश सांसद छन् । जसमध्ये एमालेका ५५ सांसद छन् । सरकार बनाउन ५५ सांसद आवश्यक पर्छ । शाक्यलाई दलको नेता चुन्ने संसदीय दलको बैठकमा बुधवार ४९ जना मात्रै सांसद उपस्थिति भएको जनाइएको छ । यसअघि नेपाल पक्षमा २२ जना थिए ।
शाक्य र एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल एमाले विभाजनको विपक्षमा उभिएपछि अन्य नेपालनिकट सांसदलाई रोक्न सकिने आकलन गरिएको छ ।