विराटनगर, १ भदौ । विराटनगरमा एकजना नक्कली डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर ६ सरौचियाका ३८ वर्षिय अमृत बानिया रहेका छन् ।
उनले सोमबार राती मदिरा सेवन गरेर नक्कली डाक्टर बनि कोसी अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्दै गर्दा पक्राउ परेका थिए ।
पक्राउ परेका बानियालाई अभर्द व्यवहारको मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरू गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका बानियालाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा पत्र पठाएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
मेसु दासले पक्राउ परेका बानियाले मध्य राती अस्पतालमा गएर नक्कली डाक्टरको भेषमा विरामीलाई अभद्र व्यवहार गरेपछि अस्पतालको छिमेकी प्रहरीले पक्राउ गरेको बताए ।
पक्राउ परेका बानियाले गाइनो वार्डको वेस्टिङ्ग रूपमा पुगेर विरामीको सम्बेदनसिल अंगमा पनि छोएको आरोप छ । पक्राउ परेका बानियाले गाइनो वार्डमा सिधै गएर विरामीको स्वास्थ्य परीक्षण गरेको खुलेको छ ।
विरामीको स्वास्थ्य परीक्षण गर्दा ग्लोब्ससमेत नलगाई उपचार गर्न खोजेपछि नक्कली डाक्टर भएको खुलेको थियो । उनले नक्कली डाक्टर बनेर तीन जना विरामीको स्वास्थ्य परिक्षण गरेको अस्पतालले जनाएको छ ।