काठमाडौं, ८ साउन । कोकाकोला उत्पादक ‘बोटलर्स नेपाल लिमिटेड’ सँग अन्तरसम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर कर छली गरिएको आशंकामा राजस्व अनुसन्धान विभागले छानबिन थालेको छ । नेपालका सरकारी निकायलाई कुनै जानकारी नदिई उक्त कारोबार गरिएपछि प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धानले छानबिन थालेको हो ।
बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर विदेशी लगानीकर्ता, २२ प्रतिशत सेयर नेपालस्थित खेतान ग्रुपअन्तर्गत गोरखा ब्रुअरी र २ प्रतिशत सेयर सर्वसाधारणको छ । ‘७६ प्रतिशत सेयरवाला विदेशी कम्पनी उतै बिक्री गरेर नेपालको आयकर ऐन, २०५८ अनुसारको २५ प्रतिशत पुँजीगत लाभकर छल्न खोजिएको देखिन्छ,’ विभागका एक अधिकारीले भने, ‘यसबारे उजुरी परेपछि हामीले अनुसन्धान गरिरहेका छौं । अफसोर कारोबार भएका कारण प्रमाण जुटाई मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाउन कठिन परिरहेको छ ।’
यो सम्भावित कर छलीबारे आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले सुरुमा न्युज कारोबार अनलाइनमा खुलासा गरेका थिए । बुढाथोकीलाई बोटलर्स नेपाल व्यवस्थापनले धम्कीसमेत दिएको घटना सार्वजनिक भएको छ । ‘फलोअपसहित समाचार लेखेपछि बुढाथोकीको नाम नै तोकेर तह लगाउन ट्रेड युनियनका केही पदाधिकारीलाई निर्देशन दिएर माइन्युट गराएको’ भन्दै नेपाल पत्रकार महासंघले गत साउन २ मा प्रेस विज्ञप्ति जारी गरी भर्त्सनासमेत गरेको थियो ।
सार्वजनिक विवरण तथा विभागसम्बद्ध स्रोतले जनाएअनुसार विदेशमा एक कम्पनी खडा गरी त्यसको खरिदबिक्री उतै गर्ने र नेपालमा पुँजीगत लाभकर नतिर्ने उद्देश्य राखेको देखिन्छ । त्यसका लागि सिंगापुर, दुबई तथा अन्य देशमा विभिन्न तहमा कम्पनी खडा गरी खरिदबिक्री गर्ने गरेको अनुसन्धानका क्रममा देखिएको विभाग स्रोत बताउँछ, जुन खरिदबिक्रीबारे यहाँको उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंकलगायत निकायलाई जानकारी दिइएको छैन । ‘अनौपचारिक कागजातहरूका आधारमा सन् २०१४ मा नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर स्वामित्व रहेको कम्पनी कोकाकोला साब्को (एसिया) लिमिटेड दुबईमा बिक्री भएको देखिन्छ,’ राजस्व अनुसन्धान विभागसम्बद्ध स्रोत भन्छ, ‘त्यो कम्पनीले नेपाली स्रोतको प्रयोग गरी लाभ आर्जन गरेको र कानुनअनुसार त्यस्तो लाभमा कर तिर्नुपर्ने हुन्छ । तर उसले यहाँका सरकारी निकायमा कुनै जानकारी नै नदिई कर छली गर्न खोजेको देखिन्छ ।’
बहुराष्ट्रिय कम्पनीहरूले विदेशमै यसरी कारोबार गरी कल छल्ने प्रयास गरे पनि नेपालमा कर तिर्नुपर्ने नजिर स्थापना भइसकेको छ । त्यसको एउटा उदाहरण अघिल्लो पटक बोटलर्स नेपाल लिमिटेडकै अफसोर कारोबार हो । सन् २००४ मा बोटलर्स नेपालको ७६ प्रतिशत सेयर विदेशमै बिक्री हुँदा आन्तरिक राजस्व विभागले छानबिन गरी कर निर्धारण गरेको थियो । ‘त्यतिबेला पनि अहिलेकै जस्तो यहाँका सरकारी निकायलाई कुनै जानकारी नदिई सेयर बिक्री गरेकामा त्यसमाथि छानबिन गरी ६६ करोड ५० लाख ८१ हजार ६९१ रुपैयाँ कर निर्धारण गरिएको रहेछ,’ विभाग स्रोत भन्छ । इकान्तिपुर डटकमबाट