काठमाडौं, असार २८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिनुभएको छ । नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।
बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताउनुभएको हो । पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ । अब त्यसलाई उहाँहरुले कुन ढंगले लागू गर्न हुन्छ भन्ने हेर्नुपर्छ ।’