काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले निकालेको विज्ञप्तिको प्रभाव बुधबारको बजारमा देखिएको छ । आज एकैदिन कारोबार खुलेको अढाई घण्टा नबित्दै चारवटा कम्पनीमा नेगेटिभ सर्किट लागिसकेको छ भने २५ कम्पनी सर्किट लाग्ने तरखरमा छन् । यसरी नेगेटिभ सर्किट लाग्नेमा अधिकांश हाइड्रो, फाइनान्स र विकास बैंक क्षेत्रका कम्पनीहरू छन् ।
सर्किट लाग्नेमा बेस्ट फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र पाँचथर पावर कम्पनी रहेको छ । यी चारवटै कम्पनीको १० प्रतिशतले मूल्य घटिसकेको छ भने बाँकी २५ वटा कम्पनी पनि नकारात्मक सर्किट लाग्ने तरखरमा रहेका छन् ।
जलविद्युत्तर्फ जोशी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, घलेम्दी हाइड्रो, दिव्यश्वरी हाइड्रो, आँखुखोला जलविद्युत्, पंचकन्यामाई हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी, पाँचथर पावर कम्पनीलगायतका कम्पनी रहेका छन् ।
बुधबार यो समाचार तयार पार्दा सम्म नेप्से सूचक २५ दशमलव ७१ अंकले घटेर २९९६ दशमलव ३६ अंकमा पुगिसकेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ३६ अंकले घटेर ५४६ दशमलव ९० अंकमा पुगेको छ ।
यस्तै, २ सय १४ कम्पनीको १ करोड ५० लाख ५२ हजार २ सय ८२ कित्ता शेयर ८ अर्ब ६९ करोड३५ लाख ६४ हजार ३९ रुपैयाँमा शेयर किनबेच भइसकेको छ ।
बोर्डले मंगलबार जोखिमयुक्त ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो । जसमा आज ऋणात्मक हुने अधिकांश कम्पनी परेका छन् । नेप्सेले बोर्डको विज्ञप्तीमा प्यानिक भएर तत्काल शेयर नबेच्न आग्रह गरे पनि यतिबेला लगानीकर्ता प्यानिक सेल गरिरहेका छन् ।
बजार घटिरहेको अवस्थामा ६ दिन अगाडि मात्रै कारोबार सुरु गरेको सीइडीवीले भने ९ दशमलव ९० प्रतिशतले शेयरमूल्य बढाइसकेको छ । त्यस्तै सबैभन्दा धेरै कारोबार भने नेसनल हाइड्रोपावरको भइरहेको छ । यो कम्पनीको अहिलेसम्म ४४ करोड ८३ लाख ३८ हजार रुपैयाँको कारोबार भइसकेको छ ।