विराटनगर, १६ माघ । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको सिङ-जुरो भाँचिदिएको बताएका छन् । संसद विघटनविरुद्ध विराटनगरमा आयोजन गरिएको विरोधसभामा बोल्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले आफ्नो समूहको पक्षमा निर्णय गरेको दाबी गरे ।
उनले ओलीलाई लोकतन्त्र र गणतन्त्रसँग एलर्जी भएको र ओली समूहले तमासा मात्र गरिरहेको आरोप लगाए । ओलीले विकास होइन बिगार्ने मात्र काम गरेको उनको भनाइ छ । उनले अहिलेको लडाइँ कुर्चीको नभइ विचारको लडाइँ भएको बताए ।
‘झलनाथ र म यता छौँ त्यसैले एमाले पनि हामीनै हौँ । ३ सय केन्द्रीय सदस्य भएको पार्टी मूल पार्टी हो । पार्टी ओलीको पेवा होइन,’ उनले भने । बुटवल, काठमाडौं र विराटनगरको भेलाले जनमत आफ्नो पक्षमा छ भन्ने स्पष्ट पारेको उनले बताए ।