सामान्यतः नेकपाका अध्यक्ष प्रचण्ड र सचिवालय सदस्य ईश्वर पोखरेलबीच मत मिल्दैन । पोखरेलले अध्यक्ष प्रचण्डलाई चिढ्याउने सार्वजनिक अभिव्यक्ति दिनेमात्र होइन्, सचिवालय बैठकमै सहज प्रस्तुति हुदैन ।
अलिक कडा भाषाशैलीमा प्रस्तुत हुने पोखरेलले नै जबजको फायर खोलेका थिए– प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा । गत वर्षको यो घटनामात्र होइन्, सचिवालयका हरेकजसो बैठकमा पोखरेल प्रचण्डको खिलापमा उभिन्छन्, चर्को अभिव्यक्तिसहित ।
त्यसैले अध्यक्ष प्रचण्ड र पोखरेलको भेटवार्ता औपचारिक जस्तोमात्रै लाग्छ । नेकपाका दुई अध्यक्षको सम्बन्ध चिसोमात्र होइन्, संवादहीनताको अवस्थामा रहेकै बेला प्रधानमन्त्री तथा ओलीनिकट मानिने नेताहरु निरन्तर खुमलटार पुगिरहन्छन् । त्यही क्रममा आज बिहान ९ बजेतिर नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगे ।
हिजोमात्रै महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङ प्रचण्ड निवास पुगेका थिए । तर, यी तीनै जानसँगको भेट भने ओलीको चाहनाभन्दा बढ्ता प्रचण्डको बोलवाटमा भएको हो । निरन्तर ओलीनिकट नेताहरुलाई भेट्ने र परिस्थितिलाई ‘कुल गराउने’ भूमिका वा प्रयास प्रचण्डबाट भएको देखिन्छ ।
१७ मंसिरको सचिवालय बैठकमा अध्यक्ष ओली अनुपस्थित भएपछि २० मंसिरका लागि प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । र १८ मंसिरको स्थायी समिति बैठकलाई २१ मंसिरलाई सारेका छन् । यी दुबै बैठकमा ओलीपक्षको समर्थन छैन । प्रचण्डसहित बहुमत सचिवालय सदस्यको निर्णय अनुसार भोलि सचिवालय बैठक बस्दैछ ।
त्यही बैठकको सम्मुखमा प्रचण्डले ओलीनिकट नेताहरुसँग संवाद बढाएका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रचण्डले विवादलाई सल्टाउने प्रयासमा केन्द्रित भएर नै पौडेल, नेम्वाङ र पोखरेलसँग संम्वाद गरेका हुन् ।
ओलीनिकट नेताहरु प्रचण्डले राजनीतिक दस्तावेज फिर्ता गर्नुपर्ने अडानमा छन् । प्रचण्ड दस्तावेज फिर्ता नभएसम्म ओली बैठकमा सहभागी नहुने सन्देश प्रचण्डसम्म पुर्याइरहेका छन् ।
भोलिको बैठकमा ओलीको उपस्थितिको वातावरण बनाउन पनि प्रचण्डले उनीनिकट नेतासँग संवाद बढाएको प्रचण्डको सचिवालय स्रोत बताउँछ ।