दाङ, मंसिर ६–नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले कार्यकर्ता माझ पुगेपछि भने आफु कुनै गुटमा नरहेको स्पष्टिकरण दिएका छन् । सचिवालय बैठकमा दोस्रो वरियताका अध्यक्षको पक्षमा लागेको भनिएका उपाध्यक्ष गौतमले आफू पार्टीको कुनै गुटमा नरहेको बताएका हुन् ।
उनले अहिले पनि आफू पार्टी एकताको पक्षमा रहेको जिकिर गरे । तुलसीपुर उपमहानगरपालिकाले शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा गौतमले अहिले पार्टीमा समस्या देखिएको भन्दै त्यो समस्या समाधान गर्न आफू निरन्तर लागिरहेको बताए ।
‘कस्ले के भन्छन, त्यतातिर नलाग्नोस अरुको कुरा नसुन्नोस, म कुनैपनि गुटमा छैन,’ उपाध्यक्ष गौतमले भने । आफूलाई आफ्नो स्वार्थका लागि हरेक पटक गुटमा जोडने गरेको पनि उनले बताए । पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पना आफ्नो सपना भएको बताउँदै ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा आफु रहेको समेत बताए । आफूले अहिलेसम्म कुनै गुटबन्दी नगरेको दाबी गर्दै यति बेला सबै पार्टी एकताको पक्षमा हुनुपर्नेमा जोड दिए ।