यस आगडि लकडाउन खुलेसँगै शेयर कारोबार ४ अर्ब ८५ करोड रुपैयाँमा पुगेको थियो । त्यसयता पुनः कारोबार घटेर २ देखि ३ अर्बको कारोबार हुँदै आएको थियो ।
बिहीबार पनि शेयरबजार परिसुचक नेप्से ३६.३२ अंकले बढेर १७७८.१२ बिन्दुमा पुगेर बन्द हुँदा ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाको शेयर कारोबार भएको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार १ सय ९८ कम्पनीको १ करोड ४० लाख ६२ हजार ५ सय १२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकममा उछाल आएको हो ।
कारोबार बढेसँगै परिसूचक पनि बढेपछि १५ कम्पनीले ९ प्रतिशतभन्दा बढीले शेयर मूल्य बढाउन सफल भएका छन् । त्यसो त बिहीबार सबै समूहको परिसूचक उकालो लागेको छ । जसमा सबैभन्दा धेरै ट्रेडिङ समूहको ९.९४, होटल समूहको ९.३८ प्रतिशतले सूचक बढेको हो ।
बजार बढ्नुमा लगानीकर्तामा उत्साह बढनु प्रमुख कारण रहेको शेयर बजार विश्लेषक विष्णु बस्याल बताउँछन् । ‘लकडाउन सकिएसँगै लगानीकर्ताहरू अनलाइन प्रणालीबाट शेयर कारोबार गर्न थाले । ब्रोकरकोमा पुग्नुपर्ने, बैंक पुग्नै पर्ने झन्झट सकिएपछि कारोबार गर्नेहरू पनि बढे । यसले नेप्से सूचकमा सकारात्मक असर देखियो,’ उनी भन्छन्, ‘अहिले सूचक बढेर ३० अंक पार गरेपछि भने अन्तिम समयमा आएर लगानीकर्ताले हौसिएर धमाधम शेयर खरिदबिक्री गरेको पाइयो ।’
बस्याल शेयरले उकालो यात्रा अझै केही दिन तय गर्ने बताउँछन् । यस्तै, नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुली पनि शेयरबजार सुधारोन्मुख हुँदै गएपछि लगानीकर्ता हौसिँदा कारोबार रकम ह्वात्तै बढेको बताउँछन् ।