स्वास्थ्य मन्त्रालयको एक करोडको सहयोगमा तीन महिनाअघि मात्र अस्पतालमा भेन्टिलेटरसहित पाँच शय्याको सघन उपचार कक्ष निर्माण गरिएको थियो ।
अस्पतालले विशेषज्ञ चिकित्सकसहित प्राविधिकको अहिलेसम्म व्यवस्थापन गर्न नसक्दा सघन उपचार कक्ष प्रयोगविहीन अवस्थामा रहेको अस्पतालका कर्मचारी बताउँछन् ।
जिल्ला अस्पताल उदयपु्रका प्रमुख डा. जीवनारायण मण्डलका अनुसार अस्पतालमा सघन उपचार कक्ष सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको एक करोडबाट दुई वटा भेन्टिलेटर मेसिन जडान गरिएको छ । तर विशेषज्ञ चिकित्सकको व्यवस्थापन हुन नसक्दा अहिलेसम्म सघन उपचार कक्ष सञ्चालनमा आउन सकेको छैन् ।
सघन उपचार कक्ष सञ्चालनका लागि एक विषय विशेषज्ञ र अन्य तालीम प्राप्त प्राविधिक नर्सहरुको व्यवस्थापन हुन नसक्दा प्रयोगविहीन अस्थामा रहेको अस्पताल प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले बताए ।
उनले विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि प्रदेश सरकारसँग पटक पटक अनुरोध गरिएपनि हालसम्म व्यवस्थापन हुन नसकेको बताउँदै विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको सघन उपचार कक्ष ठप्प छ । सघन उपचार कक्ष ठप्प हुँदा त्यहाँ आएका जटिल रोगका बिरामीलाई अन्यत्र पठाउने गरिन्छ ।
हिजोआज अस्पतालमै पुगेर सेवा लिनुपर्छ भन्ने मानसिकताको विकास भइरहेका बेला विशेषज्ञ डाक्टरबाट घर नजिक पायक ठाउँमा सेवा सुविधा नपाउँदा अन्यत्र भौंतारिनुपर्ने बाध्यता उदयपुरवासीलाई छ ।
आकस्मिक सेवाका लागि अस्पतालबाट अन्यत्र पठाइएका बिरामीलाई समयमा पुर्याउन नसक्दा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था पनि छ । वर्षायामका बेला सडक समस्याका कारण वर्षेनी नागरिकले उपचारमा कष्ट भोग्दै आएका छन् ।
सघन उपचार कक्ष सञ्चालनमा नआउँदा यहाँका बिरामीलाई धरान, विराटनगर, जनकपुरलगायत अस्पतालमा पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल विकास समितिका पूर्वअध्यक्ष तथा समाजसेवी शिव रेग्मीले बताए । रासस