धान खेतमा पानी कटाउन गएकी किशोरीलाई रञ्जित र बब्लुसहित ४ जनाले २९ भदौमा बिहान सामूहिक बलात्कार गरेको आरोप छ । बलात्कारका अन्य आरोपितहरु धर्म मण्डल र विष्णु मण्डल फरार छन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले आरोपितविरुद्ध उजुरी गर्न गाउँको उनकै समुदायका पञ्चहरुले रोक लगाएपछि ३० भदौमा किशोरीले आत्महत्या गरेकी थिइन् ।
बलात्कारपछि शत्रुघ्न मण्डलको घरमा बसेको गाउँलेहरुको छलफलले पीडित र उनकी आमालाई प्रहरी कार्यालयमा घटनाको जाहेरी दिन रोक लगाउँदै आरोपितबाट ५५ हजार क्षतिपूर्ति भराउने निर्णय सुनाएको थियो ।
न्यायको साटो अस्मिताको मूल्य तोकेर क्षतिपूर्ति दिने निर्णयको विरोध गरेकी किशोरीले मानसिक पीडा सहन नसकी आत्महत्या गरेको उनको आमाले बताइन् । मृतकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण गरिएको छ ।
प्रहरीले छलफलमा बस्ने ३ जना पञ्चलाई समेत पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ । किशोरी र उनकी आमालाई धम्क्याएर बलात्कार घटनामा सहमति गराउन खोज्ने पञ्च मध्येका जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई प्रहरीले ३० भदौमा नै पक्राउ गरेर मुद्दा चलाएको छ ।
उनीहरुलाई आत्महत्या दुरुत्साहनमा कारवाही थालिएको छ भने पक्राउ परेका बलात्कारका २ आरोपित रञ्जित र बब्लुविरुद्ध आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने सप्तरी प्रहरीले जनाएको छ । रासस