जनकपुर, २ असोज–लामो समय पर्खाइपछि अन्ततः नेपाली रेल शुक्रबार जनकपुरधाम स्टेसनमा आइपुगेको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।
लामो समयको प्रतीक्षापछि कुर्था(जनकपुर–यनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल भित्रिएको हो ।
भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा किनेको हो ।
भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म निर्माण भएको ३४ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाकमा पहिलो चरणमा रेल गुड्ने बताइएको छ । कोरोना संक्रमणको प्रवाह नगरी यतिबेला जनकपुरधारममा रेल हेर्नका लागि सर्वसाधारणको भीड लागेको छ । कतिपयले रेलमा चढेर तस्वीर लिँदै गरेको पनि देख्न सकिन्छ भने ठाउँठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
तस्बीरहरु: अबिनाशकुमार निधि/जनकपुर