भद्रपुर–२ का अनिल प्रधान र विर्तामोड–६ का रोहित लिम्बूले हात्ती धपाउने नयाँ प्रविधिको घरेलु बन्दुकको निर्माण गर्दै आएका छन् । जिल्ला वन कार्यालय झापाले समेत यसको प्रयोग गर्दै आएको छ ।
युट्युबबाट विभिन्न प्राविधिक ज्ञान लिएर स्थानीयरूपमा उपलब्ध सामग्री प्रयोग गरी निर्माण गरिएको सो बन्दुकको आवाज सुनेर जङ्गली हात्ती डराएर भाग्ने बन्दुकका निर्माणकर्ता लिम्बूको दाबी छ ।
प्लास्टिकको ठूलो आकारको पाइप, क्याल्सियम कार्बाइड, सुपरग्लु, फलामको काँटीलगायतका सामग्रीले निर्मित बन्दुकबाट निस्कने आवाजले हात्ती र बन्दुक पड्काउने व्यक्तिलाई शारीरिक क्षति नहुने जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
बिहीवार वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र पत्रकारहरुको उपस्थितिमा निर्माणकर्ता लिम्बूले बन्दुकको परीक्षण गरेर देखाएका थिए ।
स्थानीय निचाझोडा जङ्गलबाट शेर्मा टोलमा पसेको हात्तीलाई सोही बन्दुक पड्काएर सफलतापूर्वक धपाइएको उनले जानकारी दिए ।बन्दुकको निर्माणमा खासै धेरै खर्च नहुने निर्माताहरुको भनाइ छ । भद्रपुरका अनिल प्रधानले ४ हजारमा एउटा बन्दुक बनाउन सकिने बताए । विर्तामोडका लिम्बूले त्योभन्दा सस्तोमा निर्माण गर्न सकिने दाबी गरे । ।
जिल्ला वन कार्यालय झापाले जङ्गली जनावर धपाउन यस्तो प्रविधिको बन्दुकको प्रयोग हुँदै आएको र हात्तीपीडित समुदायलाई यसको प्रयोगमा प्रोत्साहित गर्दै आएको कार्यालयका प्रमुख घिमिरेले बताए । पश्चिम नेपालतिर बाँदर धपाउन धेरै पहिलेदेखि यस्तो प्रविधिको सफल प्रयोग हुँदै आएको उनको भनाइ छ । हात्ती धपाउन यसअघि टुङ, सुरुङ, हात्तीबार, मौरीपालन, सौर्य विद्युतीय घेराबेरा, ड्रोनलगायतका विभिन्न उपायको प्रयोग हुँदै आएको छ । -रासस