अस्पतालले संक्रमण भएका सुत्केरीका लागि व्यथा लाग्दा राख्नेदेखि शल्यक्रिया गराउनेसम्म छुट्टै व्यवस्था गरेको छ । उनीहरूबाट जन्मिएको नवजात शिशु राख्न भेन्टिलेटरसहितको व्यवस्था मिलाएको छ । संक्रमित जाने बाटो र राख्ने ठाउँ सिल गरेर अन्यसँग सम्पर्क नहुने गरी व्यवस्था गरिएको छ ।
अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशषेज्ञ डा. रामप्रसाद सापकोटाका अनुसार संक्रमणपछि अस्पतालमा प्रसूति गराएका सबै डिस्चार्ज भई स्थानीय तहको आइसोलेसनमा गएका छन् ।
उनीहरूबाट जन्मिएका नवजात शिशुमा संक्रमण देखिएको छैन । हालसम्म सुत्केरी भएर गएकाहरूको समस्या नआएको उनको भनाइ छ । संक्रमितमध्ये ३ जनाको साधारण र ५ जनाको शल्यक्रिया गरिएको हो । तीमध्ये शल्यक्रिया गरिएका २ जनाको पछि संक्रमण पुष्टि भएको हो ।
डा. सापकोटाका अनुसार प्रसूति गरिएकामध्ये ३ नवलपरासी, २ चितवन तथा गोरखा, सप्तरी र मकवानपुरका एक-एक जना छन् । अस्पतालमा अहिले दैनिक ३० भन्दा बढी प्रसूति हुँदै आएका छन् ।
अस्पतालले संक्रमित र अन्यको फरकफरक ठाउँमा उच्च सावधानीका साथ प्रसूतिसहित उपचार गराउँदै आएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार चितवनसहित विभिन्न जिल्लाबाट त्यहाँ प्रसूति गराउन र उपचारका लागि आउने गर्दछन् । हरेक वर्ष १३ हजारभन्दा बढीको प्रसूति यसै अस्पतालमा गराइन्छ । अस्पतालमा प्रसूति सेवा निःशुल्क छ । रासस