प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी निर्णयअनुरूप राष्ट्रियसभा सदस्यमा गौतम सिफारिस गर्ने प्रस्ताव गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एक जना राष्ट्रियसभा सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था रहेको छ । उक्त राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा. युवराज खतिवडालाई कि गौतमलाई पठाउने भन्ने विषयमा नेकपाभित्र विवाद हुँदै आएको थियो ।
साथै बैठकले पार्टीभित्रको समस्या समाधानका लागि कार्यदलले अध्ययन गरेर पेस गरेको प्रतिवेदनमा प्रारम्भिक छलफल गरेको छ । प्रतिवेदनमा प्रस्तुत महत्वपूर्ण सुझावलाई आधार बनाएर र बैठकमा छलफलका क्रममा व्यक्ति विचारलाई समेत ध्यान दिएर अध्यक्षद्वयले स्थायी कमिटीको बैठकका कार्यसूची, पार्टी र सरकारका सम्बन्धमा निर्णय गर्नका लागि आवश्यक प्रस्ताव तयार पारी गृहकार्य गर्ने निर्णय भएको उनले बताए ।