काठमाडौं, ५ भदौ–शुक्रबार एकै दिन नेपालमा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा १ महिला र १० पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठान गरी ११ जनाको निधन भएको उनले बताए । देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
आज उपत्यकामा १८२ जनासहित देशभर थप ८३८ जनामा कोरोना पुष्टि भएको छ । योसहित संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म ३० हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये १८ हजार २१४ जना निको भएका छन् भने १२ हजार १३२ जना आइसोलेसनमा उपचार गरिहेको छन् ।