उनको शव २६ साउनकाे बिहान शरीर, टाउको र खुट्टा छुट्टाछुट्टै स्थानमा प्रहरीले फेला पारेको थियो । उनको हत्या अभियोगमा प्रहरीले सोमबार राती चितवनकाे कालिका नगरपालिका- ७ की कल्पना मुडभरी पौडेललाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
कल्पनाले हत्या आफैँले गरेको साबिती बयान प्रहरीलाई दिइसकेकी छन् । बोहोराले खाँदै गरेको रक्सी र दहीमा निद्रा लाग्ने औषधि खुवाएर निदाएपछि अण्डकोषमा मार्तलले हानेर हत्या गरेकी थिइन् । हत्यापछि कल्पनाले बोहोराको शवलाई बाथरुममा लगेर खुट्टा, टाउको र शरीर काटेर सुटकेस र जेब्रा झोलामा हालेर फालेकी हुन् ।
छोरीलाई बलात्कार प्रयास गर्न खोजेपछि हत्या
मङ्गलबार प्रहरीले मृतक बोहोराले नक्कली फेसबुक आईडी खोलेर कल्पनाको नग्न तस्वीर पोस्ट गरेको र त्यही रिसमा उनको हत्या गरेको बताएको थियो ।
तर, हत्याको पछाडि अर्को पनि कारण रहेको खुलेको छ । मृतक बोहोराले २५ साउनमा कल्पनासँगै बसेर रक्सी खाँदै गर्दा उनकी १५ वर्षीया छोरीलाई समेत कल्पनाकै अगाडि बलात्कार प्रयास गरेको खुलेको हो ।
त्यही आवेगमा आएर कल्पनाले निद्रा लाग्ने औषधि दहीमा मिसाएर बोहोरालाई खुवाएर निदाउन लागेपछि छोरीकै अगाडि अण्डकोषमा मार्तलले हानेर हत्या गरेको बयान प्रहरीलाई दिएकी छन् ।
कल्पनाले प्रहरीलाई भनेकी छन्, ‘मृतक बोहोरा र मेरो लामो समयदेखिको सम्बन्ध हो । ऊ सधैँ मेरो कोठामा आइराहन्थ्यो । हामीबीच सबै सम्बन्ध भएका छन् । तर, उसले छोरीमाथि पनि कुदृष्टि लगाउन थालेको थियो । घटना भएको दिन मेरै अगाडि छोरीलाई बलात्कार गर्न समात्योे । मैले छोरीकै अगाडि अण्डकोषमा मार्तलले हानेर हत्या गरेकी हुँँ ।’
अण्डकोषमा हानेर सलले घाँटी बेरेर हत्या गर्दा छोरी पनि सँगै रहेको र बोहोराको शव काट्दा मात्र छोरीलाई टीभी रूममा पठाएको प्रहरीलाई बताएकी छन् ।
कल्पना र बोहोराबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान भएर लामो समयदेखि प्रेम सम्बन्धमा थिए । कल्पनाकी १५ वर्षीया छोरी सरकारी स्कुलमा पढ्दै आएकी थिइन् । उनी कक्षा ९ बाट भर्खर १० कक्षामा पुगेकी हुन् । कल्पनाका श्रीमान्ले उनलाई २ वर्षअघि नै छाडिसकेका छन् ।
त्यस्तै, मृतक कृष्णबहादुर बोहोराले पनि बहुविवाह (२ विवाह) गरिसकेका छन् । दुवै श्रीमती उनको सम्पर्कमा छैनन् । जेठी श्रीमती दाङ र कान्छी श्रीमती छोराछोरीसहित भारतमा बस्दै गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
एम्बुलेन्स प्रयोग गरेर फरार
कृष्णको हत्या गरेर टाउको र शरीर छुट्टाछुट्टै बनाएर सडकमा फाली फरार भएकी कल्पनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । शनिबार हत्या गरी आइतबार दिनभर कोठा सरसफाइ गरेर बेलुका मात्र कल्पना चितवनतिर भागेकी थिइन् ।
चितवनबाट बिरामीलाई लिएर काठमाडौं आएको एम्बुलेन्समा उनी चितवन पुगेकी हुन् । चितवनमा हुँदै चिनजान भएका ती एम्बुलेन्स चालकले ६ हजार रुपैयाँ लिएर कल्पना, उनकी १५ वर्षीया छोरी र १३ वर्षका छोरालाई चितवन पुर्याएका हुन् । कल्पनालाई पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरे पनि १५ वर्षीया उनकी छोरी नाबालिका भएका कारण प्रहरीले सार्वजनिक गरेको छैन ।