कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले नै मूल्याङ्कन गरेर पठाएको नम्बरको आधारमा बोर्डले नतिजा सार्वजनिक गर्न लागेको हो विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले प्रमाणित गरेको प्रतिलिपबाट विद्यार्थीको डाटा रुजु गर्ने काम भइरहेको छ ।
रुजुको काम सकिएपछि बोर्डले प्रमाणिकरण गरेर नतिजा सार्वजनिक गर्ने तयारी छ । ‘रुजुको काम भइरहेको छ,’ राष्ट्रिय परीक्षा बोडका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘नतिजा सार्वजनिक गर्न अझैं एक साता लाग्छ ।’
बर्खाका कारण बाटो अवरुद्ध भएपछि कतिपय दुर्गम जिल्लाबाट विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईबाट डाटा आउन समय लागेकाले पनि नतिजा सार्वजनिकमा ढिलाइ भएको हो ।
नतिजा बोर्डले सार्वजनिक गर्ने कि विद्यालयले ?
नतिजा बोर्डले सार्वजनिक गर्ने कि विद्यालयले भन्ने विषयमा पनि बहस सुरु भएको छ । विद्यालय नै मूल्याङ्कन गरेको भएकाले बोर्डले सूचना निकाल्ने र विद्यालयले नै नतिजा सार्वजनिक गर्ने विषयमा पनि बोर्डमा छलफल चलिरहेको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले नतिजा राष्ट्रिय परीक्षा बोर्डले नै सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।
‘आधिकारिकताको लागि पनि बोर्डल नै नतिजा निकाल्नुपर्छ,’ उनले भने, ‘विद्यालयले निकाल्दा आधिकारितामामाथि प्रश्न उठ्छ ।’ एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यालयले नै मूल्याङ्कन गरेकाले नतिजा पनि विद्यालयले सार्वजनिक गर्दा राम्रो हुने बताए ।
‘मूल्याङ्कन विद्यालयले गरेकाले नतिजा पनि विद्यालयले निकाल्दा राम्रो हुन्छ,’ उनले भने, ‘परीक्षा बोर्डले प्रमाणिकरण गरेर विद्यालयलाई नतिजा निकाल्न दिए हुन्छ ।’ प्याब्सनका महासचिव कुमार घिमिरेले विद्यालयले नै नतिजा निकाल्दा राम्रो हुने बताए ।
‘अहिलेको परिस्थितमा बोर्डले प्रमाणिकरण गरेर विद्यालयले नै नतिजा निकाल्दा हुन्छ,’ उनले भने, ‘जसले नतिजा निकालेपनि धेरै फरक पर्ने होइन ।’