विराटनगर, साउन १४–चारजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि विराटनगर स्थित कोसी अस्पतालको ओपीडी सेवा बिहीबारबाट बन्द गरिएको छ ।
ओपिडीका इञ्चार्जसहित चार जनामा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्दको जानकारी दिएको हो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि संक्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । धेरै विरामीको चाप हुने अस्पतालका स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि तनाब देखिएको छ ।
संक्रमितको सम्पर्कमा आएका १४ जनामध्ये २ जनालाई होम क्वारेन्टाइन र १२ जनालाई स्थानीय एक होटेलमा निगरानीमा राखिएको अस्पताल प्रशासनले जनाएको छ । ओपिडी सेवा बन्द गरेर ओपीडी कक्षसहित अस्पताललाई निर्मलीकरणको काम गर्ने अस्पतालको तयारी छ ।
पछिल्लो समय अस्पतालमा दैनिक ६ सय बढि विरामी आउने गरेका थिए ।अन्य अस्पतालले कोरोनाको बहानमा उपचार बन्द गरेको अवस्थामा पनि कोशीले आफ्नो सेवा सुचारु गरेको थियो । ओपीडी सेवा बन्द भएपनि आकस्मिक सेवा फिभर क्लिनिक भने बन्द गरिएको छैन । अस्पतालले गेट बन्द गरेर गेटमै ओपीडी सेवा बन्द भएको सूचना टाँसेको छ ।