झापा, ९ साउन-पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड–१९ सङ्क्रमण भएको छ ।स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र २ जनामा ३ दिनअघि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको होे । सो गुल्मका सशस्त्र प्रहरीले काँकडभिट्टा नाकामा भारतबाट आइपुगेका नेपालीलाई होल्डिङ सेन्टरमा सुरक्षा प्रदान गर्दै आएका छन् ।
३ दिनअघि होल्डिङ सेन्टरमा खटिएको सशस्त्र प्रहरीको समूहको स्वाब सङ्कलन गरी परीक्षणका लागि धरान पठाइएकोमा आज १८ जनामा कोभिड–१९ पुष्टि भएको मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नविन बरालले बताए । – रासस