काठमाडौं, ८ साउन-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बाट स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकार टाढिएको भन्ने कुरामा सत्य नभएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । अध्यक्ष प्रचण्ड र शर्माबीच कुनै मतान्तर नरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा (जुगल)ले बिहीबार एक प्रेस नोट जारी गर्दै बताएका हुन् ।
‘केही दिनयता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ बारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित-प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक वैचारिक बहसहरू एक जीवन्त पार्टीका विशेषता हुन् । तिनै बहसबारे मिडियामार्फत नेताहरूमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय छ ।’
प्रेस नोटमा पार्टी एकतादेखि आजसम्मको यात्राका क्रममा शर्माले प्रचण्डलाई सहयोग गर्दै आएको पनि स्मरण गराइएको छ । पार्टीभित्रको आन्तरिक बहसमा पनि शर्मा पार्टी एकतामा उभिएको प्रेस नोटमा उल्लेख छ । ‘कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरू खारेज गर्दछौँ’ प्रेस नोटमा भनिएको छ ।
पछिल्लो समय सञ्चार माध्यममा शर्माकै कारण अध्यक्ष प्रचण्ड समस्यामा परेको समाचार आएको थियो । नेकपाको विवादका क्रममा शर्माले प्रचण्डलाई छाडेर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समूहतिर लागेको समाचारहरू बाहिरएको थिए ।