माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति पूर्णरुपमा लकडाउन खुलेपछि मात्र तोकिने भएको छ । ‘पहिले लकडाउन खुल्नुप¥यो । त्यसपछि समिक्षा हुन्छ,’ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘विद्यार्थी परीक्षा केन्द्रमा जान सक्ने वातावरण बनेपछि मात्र नयाँ मिति तोकिन्छ ।’
‘२५ गतेसम्म लकडाउन नै छ । त्यसपछि आंशिक लकडाउन खुल्ने हो कि अझै लम्बिने हो थाहा छैन,’ उनले भने, ‘कोरोना प्रभावित कतिपय देशमा आंशिक खुलेका छन् । यहाँ आंशिक खुल्छ कि पूर्णरुपमा खुल्छ त्यो निर्णय भएको छैन ।’ विद्यार्थीलाई परीक्षा केन्द्रमा पुग्ने समय राखेर नयाँ मिति तोकिने उनले बताए ।
‘सरकारले अगाडी बढ भनेपछि नयाँ परीक्षा तालिका आउँछ,’ उनले भने ‘वातावरण अनुकुल र सहज नभएसम्म परीक्षा हुदैन ।’ गत चैत ६ गतेकबाट सुरु हुने भनिएको एसईई परीक्षा कोरोना भाइरका कारण स्थगित गरिएको थियो । यो वर्ष परीक्षामा ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी सामेल हुँदै छन् ।