काठमाडौं, २ साउन-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरासमेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धित विषय, तथ्य प्रमाणहरू समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको बताएकी छन् । मन्त्रालयले शुक्रबार मन्त्रालयमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो जानकारी दिएकी हुन् ।
सिङ्गो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रूपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत मन्त्रालयले कामको थालनी गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।
‘कालापानी, लिम्पियाधुरासम्मका भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाणहरू राखेर निकट भविष्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा छौँ,’ मन्त्री अर्यालले भनिन् । मन्त्रालयको नेतृत्व भूमि प्रशासनको क्षेत्रमा नयाँ ढंगले जानका निम्ती जमर्को गरिरहेको भन्दै उनले एकपछि अर्को गर्दै विगतमा भन्दा सिर्जनशील, प्रगतिशील र मौलिक ढंगले अगाडि बढ्ने प्रयत्नमा रहेको बताइन्।
राष्ट्रियताका सन्दर्भमा सिङ्गो राज्यलाई सहयोग पुग्नेगरी मन्त्रालयले महत्वपूर्ण काम गरेको भन्दै मन्त्री अर्यालले विगतमा छुटाइएको भू-भाग समेटेर नेपालको नक्सा जारी गरेको बताइन् ।