काठमाडौं, २ साउन-मलेसियामा गाँजा तस्करीको अभियोगमा पक्राउ परेका एक नेपाली तथा दुई मलेसियन नागरिकलाई सुनाइएको मृत्युदण्डको सजाय नहुने भएकाे छ ।
उनीहरूलाई उच्च अदालतले गाँजा तस्करीको अभियोगमा दुई वर्षअघि मृत्युदण्डको फैसला गरे पनि अब मृत्युदण्डकाे सट्टामा १० वर्ष कारावास तथा १० कोर्रा मात्र सजाय हुने भएकाे छ ।
मृत्युदण्डबाट बच्ने नेपालीको नाम राजकुमार साह रहेको जनाइएको छ । पक्राउ परेर थुनामा रहेका ती व्यक्तिहरूकाे तर्फबाट मुद्दा लडेकी अधिवक्ता खारेन जित कौरका अनुसार पुनरावेदन अदालतमा दायर गरिएको अपिललाई स्वीकार्दै सो अदालतले मृत्युदण्डको यसअघिको फैसलालाई खारेज गर्दै १० वर्ष कारावास तथा १० कोर्रामा रूपान्तरण गरेकाे हाे ।
मलेसियामा मृत्युदण्डको फैसला दिइएको प्रकृतिका अपराधलाई कारावासमा रूपान्तरण गर्दा बढीमा ३० वर्षसम्म जेल सजाय तथा २४ कोर्रासम्म हान्न सक्ने कानुनी व्यवस्था छ ।
उनीहरूलाई १० मार्च २०१५ मा २९०.७६ ग्राम गाँजा तस्करीको अभियोगमा मलेसियाको जोहाेरबारूमा पक्राउ गरिएको थियो । उच्च अदालतले २ वर्षअघि उनीहरूलाई मृत्युदण्डको फैसला सुनाएको थियो ।