काठमाडौं, २४ असार-आयुर्वेदका पूर्वाधारको विकास नगरीकन आयुर्वेद विश्वविद्यालयको औचित्य नरहेको आयुर्वेद क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । संघीय संसद राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले बुधबार ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६’ माथि गरेको छलफलका क्रममा सरोकारवालाले आयुर्वेद अस्पताल, फर्मेसीलगायतको विकास र विस्तार नगरीकन विश्वविद्यालय खोल्नुको औचित्य नहुने बताएका छन्।
पछिल्लो समय आयुर्वेद शिक्षामा आकर्षण कम हुँदै जानुको कारण पनि पर्याप्त आयुर्वेद हस्पिटल र रिसर्च संस्थाहरू नहुनु नै रहेकाले सबैभन्दा पहिला पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका हुन् । आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्यायले नेपालमा अहिलेसम्म ३ सय ८२ वटा आयुर्वेद स्वास्थ्य संस्था रहेको तर अझै पनि १ सय आयुर्वेद विशेषज्ञ चिकित्सकहरू नरहेको बताए ।
उहाँले देशभित्र प्रयाप्त आयुर्वेद अस्पताल नभएसम्म विश्वविद्यालय खोलेर मात्र आयुर्वेद शिक्षालाई अगाडि बढाउन नसकिने बताए । उनले नेपाल संस्कृत विश्वविद्यालयले आयुर्वेद कलेज सञ्चालन गरेको तर प्रभावकारी नदेखिएको बताए । कलेज खोल्ने तर ओपीडीबाहेकको सेवा दिन सक्ने अस्पताल सञ्चालन नगरिने भएकाले योगमाया आयुर्वेद विश्वविद्यायल सञ्चालनका लागि पनि चुनौती रहेको बताए ।