काठमाडाैं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही २४ असार (बुधबार)सम्मका लागि स्थगित भएकाे छ। नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघि यही २० असारलाई बोलाइएको बैठक आजसम्म स्थगन गरिएकामा पुनः बुधबारसम्म स्थगन गरिएको हाे ।
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीमा देखिएको समस्या समाधानका लागि थप छलफल आवश्यक भएकाले बैठक स्थगन गरिएकाे प्रचार विभाग उपप्रमुख थापाले बताए ।
नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसिसी) संविधान संशोधनलगायतका विषयमा छलफल गर्नका लागि १० असारदेखि जारी छ ।
पार्टीभित्र देखिएको विवाद समाधान गरी बैठक बस्ने तयारी गरिएको छ । अध्यक्षद्वय पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरे पनि सहमतिमा पुग्न सकेका छैनन् ।
हिजो आइतबार पनि २ अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो । आज पनि उनीहरूबीच पार्टीभित्र देखिएका विवाद समाधानका लागि छलफल हुने प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिए ।