काठमाडौं, १२ असार-राप्रपाका अध्यक्ष कमल थापाले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक राख्नु खुल्लेआम भ्रष्टाचार हुने बताएका छन् । सामाजिक संजाल ट्विटमार्फत् उनले प्रधानमन्त्रीको सरकारी निवासमा सरकारी साधन स्रोतको दुरुपयोग गरी पार्टीको बैठक राख्नु अख्तियारको दुरुपयोग हुने बताएका हुन् ।
उनले राज्यलाई पार्टीको सम्पत्ति ठान्ने अनैतिक कार्यलाई अन्त गर्न आग्रह गरेका छन् । उनले राज्यको सम्पत्तिको रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य हुनेसमेत बताएका छन् ।
‘प्रधानमन्त्रीको सरकारी निवास, कार्यालय र त्यहाँ रहेका सरकारी साधनश्रोतको दुरुपयोग गरि पार्टीको बैठक/कार्यक्रम गर्नु खुलेआम भ्रष्टाचार हो, अख्तियारको दुरुपयोग हो,’ उनले भनेका छन्, ‘राज्यलाई पार्टीको सम्पत्ति ठान्ने अनैतिक/अलोकतान्त्रिक कार्य अन्त गरियोस् । राज्यको सम्पत्ति रक्षा गर्नु प्रधानमन्त्रीको कर्तव्य हो ।’
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक सरकारी निवास बालुवाटारमा गरिरहेको छ । सो विषयलाई लिएर अध्यक्ष थापाको पछिल्लो टिप्पणी आएको हो ।