एजेन्सी, असार १०-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सरकारले सुरु गर्न लागेको विशेष रोजगार आयोजनाको यही जुन २६ मा उद्घाटन गर्ने भएक छन् । भारत सरकारले सो आयोजना कोभिड १९ पछिको अवस्थामा यहाँका कम्तीमा पनि १ करोड २५ लाख मानिसलाई रोजगारी दिने योजनाअनुरूप सुरु गर्न लागेको हो ।
‘विशेष रोजगार आयोजना’ नाम दिइएको यस आयोजनाबाट भारतको सरकारले यहाँका महिला र पुरुषगरी १ करोड २५ लाख नागरिकलाई रोजगारी दिने बताइएको छ । यही जुन २६ मा प्रधानमन्त्री मोदीले भर्चुअल माध्यमबाटै उद्घाटन गर्न लागेको जनाइएको छ ।
यो आयोजना भारतको उत्तर प्रदेशका विशेषगरी छ ओटा जिल्लाका लागि लक्ष्य गरिएको छ । उक्त आयोजनाको उद्घाटनपछि प्रधानमन्त्री मोदीले यस आयोजनाबाट लाभ लिन लागेका ती जिल्लाका केही स्थानीय नागरिकसँग पनि कुराकानी गर्ने पनि बताइएको छ ।
गोरखपुरलगायतका छ जिल्लाका जनताले यो आयोजनाबाट रोजगारी पाउने भएका हुन् । सो आयोजनाको उद्घाटनपछि उनले ती जिल्लाका महिला र पुरुषसँग अन्तक्र्रिया गर्ने बताइएको छ । यो आयोजनालाई भारतको सबैभन्दा ठूलो रोजगार आयोजनाका रूपमा लिइएको छ । यस आयोजनाको सञ्चालनबाट उत्तर प्रदेशमा विभिन्न सीप विकासका कार्यक्रमहरु सञ्चालन गरिने मुख्यमन्त्री योगी आदित्यनाथले जानकारी दिए ।
तर, उत्तर प्रदेशमा यति धेरै मानिसलाई रोजगारी दिने भनी भारतको सरकारले प्रचार गरेको यस कार्यक्रमप्रति भारतका विभिन्न विपक्षी राजनीतिक दलहरूले भने विश्वास गरेका छैनन् ।