एजेन्सी, असार ९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कामदारलाई अमेरिकामा वर्किङ भिसा दिन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम राख्ने भएका छन् ।
व्हाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार दक्ष कामदारका लागि एच १बी भिसा, कम्पनीमा काम गर्ने कर्मचारीको ट्रान्सफर गर्ने एल–१ भिसा, एकेडेमिक र अनुसन्धानकर्ताका लागि जे भिसा र सिजनल वर्करका लागि एच–२बीच भिसा नदिइने भएको हो ।
यद्यपि यो प्रतिबन्धमा फुड प्रोसेसिङ उद्योगमा काम गर्ने कर्मचारीलाई भने छुट दिन सक्ने बताइएको छ । व्हाइट हाउसका एक अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा सरकारको यो निर्णयबाट अमेरिकी जनताले कोरोना महामारीपछि तत्काल काम पाउनसक्ने बताएका छन् ।
ती अधिकारीले भने, ‘राष्ट्रपति ट्रम्प अमेरिकी जनतालाई जतिसक्दो छिटो काममा फर्काउन चाहन्छन् ।’ अमेरिकामा भिसामाथि लगाइएको यो प्रतिबन्धबाट पाँच लाख २५ हजार रोजगारी अमेरिकी जनताले पाउनेछन् । कोरोना भाइरसको महामारीपछिको संकटमा अमेरिकीका लागि यो राहतको विषय हुनेछ ।
कोरोना भाइरसको संकटको समयमा उनले विदेशी नागरिकलाई स्थायी बसोबासको सुविधा (ग्रीनकार्ड) माथि तात्कालिक रुपमा प्रतिबन्ध घोषणा गर्न सक्ने बताइएको छ । ट्रम्पले विदेशी कामदारलाई रोक्नका लागि सक्दो प्रयास गरिरहेका छन् । यद्यपि विदेशी कामदारमा निर्भर रहेका कम्पनीहरुले भने यो निर्णयको विरोध गर्न सक्नेछन् ।