रुकुम, ७ असार-सोती मुद्दामा आज ९ वकिलले बहस गरेका छन् । जाहेरीवालातर्फका वकिलको बहस जारी छ । जाहेरीवालाकै तर्फबाट बहस गर्ने वकिलको पालो सोमबारसम्म सकिने देखिएको छ । जाहेरीवालातर्फका ६/७ वकिलले अझै बहस गर्न बाँकी रहेको रुकुम जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।
बिहीबार प्रतिवादीको बयान सकिएपछि शुक्रबारदेखि थुनछेक बहस सुरु भएको हो । पहिलो दिन वादीका तर्फबाट ५ सरकारी वकिलले बहस गरेका थिए । त्यसपछि जाहेरीवालातर्फका वकिलको बहस आजदेखि सुरु भएको हो ।
जाहेरीवालाका तर्फबाट वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस सुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । उनका अनुसार सोमबार समय भएसम्म जोहेरीवालातर्फका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलको बहस पनि सुरु हुने छ । सोमबार समय नभए मङ्गलबारदेखि प्रतिवादीतर्फका वकिलको बहस हुने छ ।
प्रतिवादीका तर्फबाट ६ वकिलले बहस गर्ने छन् । मंगलबारसम्म बहस सकिएमा सोही दिन थुनछेक आदेश हुन सक्ने बताइएको छ । ६ जनाको ज्यान जानेगरी गत १० जेठमा चौरजहारी नगरपालिका-८ सोतीमा भएको घटनामा संलग्न भएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा दर्ता गराएको छ । तीमध्ये २ नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने ५ जना फरार छन् । २ नाबालकलाई अदालतको आदेश अनुसार बालसुधार गृहमा पठाइएको छ । रासस