दैलेख, ६ असार-कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन आइपुगेको छ । संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार आइपुगेको हो ।
कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले सांसद शर्माको निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको १ करोड रुपैयाँले मेसिन खरीद प्रक्रिया थालिएको थियो । अहिले मेसिनसँगै १ हजार थान स्वाब सङ्कलन किट पनि आएको छ ।
डा. रवीन खड्कासहित ८ स्वास्थ्यकर्मीको टोलीमा ल्याब टेक्निसियनलगायतको सहभागिता छ । पीसीआर मेसिनको प्राविधिक व्यवस्थापन मध्यपश्चिम बिश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहसहितको टोलीले गर्ने सांसद शर्माले जानकारी दिए ।