एजेन्सी, असार २-अमेरिकी सर्वोच्च अदालतले समलिङ्गी र ट्रान्सजेन्डर कामदारलाई कानुनी सुरक्षा दिने पक्षमा फैसला सुनाएको छ । सर्वोच्च अदालतले आफ्ना कर्मचारी समलिङ्गी वा ट्रान्सजेन्डर भएकै कारण जागिरबाट निकाल्नेहरूले कानुनको उल्लंघन गरिरहेको ठहर गरेको हो ।
अमेरिकाको कानुन कुनै पनि नागरिकलाई लिङ्गका आधारमा हुने भेदभावको विपक्षमा छ । नागरिक अधिकार कानुन १९६४ मा कसैले पनि आफ्ना कर्मचारीलाई लिङ्ग, नस्ल, रङ, राष्ट्रियता र क्षेत्रीयताका आधारमा भेदभाव गर्न नपाउने व्यवस्था छ ।
सर्वोच्चको इजलासमा ६–३ को मतका साथ कसैको यौनिक झुकावका आधारमा उनीहरूमाथि विभेद गर्न नहुने फैसला सुनाएको छ । एलजीबीटीक्यू समुदायका लागि सर्वोच्चको यो फैसला ठूलो जीत हो ।
सर्वोच्चले लगातार रुढिवादी रवैया अपनाएको आरोप लागिरहेको बेला यो फैसला आएको हो । न्यायाधीश नील गोरसुकले आफ्नो फैसलामा लेखेका छन्, ‘एक रोजगारदाताले समलिङ्गी र ट्रान्सजेन्डर भएकै कारण कसैलाई रोजगारीबाट निकाल्छ, उसले विपरीत लिङ्गीलाई भने प्रश्न गर्दैन ।’