धनगढी, १ असार-कैलालीको लम्कीमा क्वारेन्टाइनमा रहेकी महिनामाथि सामूहिक बलात्कारको आरोप लागेका तीनै जनामाथि प्रहरीले अनुसन्धान थालेको छ । लम्कीचुहा नगरपालिका-१ मा रहेको शहीद स्मृति माध्यामिक विद्यालयमको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलाले आफूमाथी जबरजस्ती करणी भएको भन्दै लम्कीकै तीन जना युवाविरुद्ध जाहेरी दर्ता गरेसँगै आरोपी तीन जनालाई नै प्रहरीले आइतबार पक्राउ गरेको थियो ।
उनीहरूमाथि जबरजस्ती करणी आरोपमा अनुसन्धानका लागि म्याद थप गर्ने तयारी भइरहेको कैलालीका प्रहरी नायब निरीक्षक तथा प्रवक्ता प्रतीक विष्टले बताए ।
उनले क्वारेन्टाइनमा बसेकी महिलामाथि स्वास्थ्यकर्मी एवं क्वारेन्टाइन व्यवस्थापनमा स्वयंसेवकका रूपमा कार्यरत २२ वर्षीय किशोर परियार, स्वयंसेवककै रूपमा खटिएका अरू २ जना २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको बताए ।
भारतको बैंग्लोरबाट आएकी महिला क्वारेन्टाइनमा बस्दै आएकी थिइन । शनिबार राति क्वारेन्टाइन व्यवस्थापनमा खटिएकै युवाले आफूमाथि सामूहिक बलात्कार गर्नुका साथै भिडियो बनाई पैसासमेत मागेको पीडित महिलाको आरोप छ । घटनालगतै लम्कीका स्थानीयले दोषीमाथि कडा कारबाहीको माग राख्दै नाराजुलुका साथै वडा कार्यालय तोडफोडसमेत छन् ।