काठमाडौं, १ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ता सक्षम हुन आवश्यक रहेको बताएका छन् । आज विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरू भएको घोषणाका सन्दर्भमा बोल्दै उनले आगामी पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी वहन गर्न सक्ने बताए।
‘हाम्रो शिक्षा अनुसन्धानमा आधारित हुनुपर्छ, यो नयाँ पुस्ता इन्नोभेटिभ हुनुपर्छ । नयाँ प्रविधि बनाउने, भएको प्रविधिको विकास गर्ने, उपलब्ध प्रविधि आयात गर्ने र अरुमा रहेको प्रविधिको प्रसार गर्ने हुनुपर्छ’, उनले भनेका छन्, ‘भावी पुस्ता सक्षम हुनुपर्छ । त्यो मानवीय, देशभक्त र विनम्र हुनुपर्छ । यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी वहन गर्न सक्ने हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढ्दै गएको बताएका छन् । उनले अहिलेको पुस्ता बढी जिज्ञासु र नयाँ प्रविधिमा अभ्यस्त रहेको उल्लेख गरेका छन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाइको थलो नै समुदायमा संक्रमण फैलिने केन्द्र नबनोस् भन्नेमा शिक्षक, स्वयमसेवक र अभिभावकलगायत सबै सचेत हुन आवश्यक रहेको बताएका छन् ।