काठमाडौं, ३० जेठ-नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्थाअनुसार आजदेखि सवारी साधन जोरबिजोर प्रणालीअनुसार चलाउन पाइने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन पाइने भएको हो ।
एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाइने छैन । तर, उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानेर यो व्यवस्था लागू गरिने छ ।
आजदेखि सञ्चालन हुने जोरबिजोर प्रणालीमा निजी सवारी साधन मात्र चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले जानकारी दिए । जसअनुसार ४ पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मात्र र २ पाङ्गे सवारी साधन (मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र रहनेगरी सञ्चालन गर्न पाइनेछ ।
जोरबिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।
अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९ बजेदेखि विहान ५ बजेसम्म चलाउन भने रोक लागाईएको छ । तर, कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चलाउन पाइने छैन ।
यसअघि पास लिएर सञ्चालन भएको निजी सवारी साधनहरू पनि जोरबिजोर प्रणालीअनुसार मात्र चल्न पाउने कुरा महाशाखाले उल्लेख गरेको छ । महाशाखाका प्रमुख ढकालले शुक्रबारदेखि लागू हुने नयाँ व्यवस्थालाई अनुशासित भएर पूर्णरूपमा पालनाको लागि अनुरोध गरेका छन् ।
अत्यावश्यक काम बाहेक जोरबिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारीसाधन चलाउने उपर भने विभिन्न चेक प्वाईन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने कुरा महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए ।