विराटनगर, जेठ १४-प्रदेश १ को बजेट अधिवेशन सुरू भएको छ । आजदेखि सुरू भएको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले धारणा राखेका छन् । संसदलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना नियन्त्रणमा महत्वपूर्ण काम गरेको दाबी गरे ।
उनले अन्य प्रदेशको तुलनामा प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रण र उपचारमा व्यवस्थितरूपमा काम गरेको बताए । मुख्यमन्त्री राईले कोरोनाका कारण रोकिएका विकासका काम चाँडै सुरू गर्ने, आगामी बर्षको बजेटमा कृषि र रोजगारी वृद्धिका कार्यक्रमलाई प्राथमिकता दिने पनि जानकारी दिए ।
कोरोनाका कारण प्रदेश सभाको अघिल्लो अधिवेशनमा प्रदेशको नामाकारण टुंगो लगाउन नसकिएको बताए । विषम परिस्थितिका कारण चालु अधिवेशनबाट पनि नामाकरण टुंगो नलाग्ने संकेत गरे ।
प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जन राहत कोषमा २९ करोड रुपैयाँ बढी संकलन भएको जानकारी दिए । उनले राहत बितरणमा स्थानियतहले पुर्याएको योगदानको प्रशंसासमेत गरे ।
आजको बैठकमा प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसका संदीय दलका नेता राजीव कोइरालाले तत्कालै कोरोना महामारी नियन्त्रणमा नआउने भएकाले लकडाउनको मोडल परिवर्तन गर्नेबारे ध्यान दिनुपर्ने धारणा राखे ।
उनले बजेट यथार्थपरक ल्याउन सरकारलाई सुझाव पनि दिए । राजपा समाजवादीका संसदीय दलका नेता जयराम यादवलगायतले पनि संसदमा बोलेका थिए ।