कैलाली, १४ जेठ-कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
‘उहाँलाई मंगलबार साँझ आइसोलेसन भर्ना गरिएको थियो’, सूचना अधिकारी श्रेष्ठले भने, ‘राती एक्कासी मृगी जस्तो लक्षण पनि आएको थियो । आज बिहान बाथरूम गएर आएपछि अचानक उहाँको मृत्यु भएको हो ।’
आइसोलेसनमा राख्नुअघि उनमा जटिल प्रकारको स्वास्थ्य समस्या नभएको सूचना अधिकारी श्रेष्ठले बताए । आरडीटी नेगेटिभ देखिएका उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन भइसकेकाले आज १/२ बजेसम्म नतिजा आउने उनले बताए ।
पीसीआर रिपोर्ट आएपछि मात्र शवको व्यवस्थापन गरिनेसमेत सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । बुधबार मृत्यु भएका पुरुष केही दिनअघि भारतबाट फर्किएका थिए ।