एजेन्सी, जेठ १०-लायतमा १० हजार मानिसमा कोरोना भाइरसविरुद्धको खोप परीक्षणको तयारी सुरु भएको छ । बेलायतका वैज्ञानिकले तयार पारेको खोप अघिल्लो चरणमा प्रवेश गरेको हो ।
यो सफल भएमा बेलायतमा बच्चा र वृद्धवृद्धासमेत १० हजार २६ जनामा यसको परीक्षण गरिनेछ । यसअघि गत महिना अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताले खोपको प्रभाव र सुरक्षा जाँच गर्नका लागि १ हजारभन्दा बढीमा परीक्षण सुरु गरेको थियो ।
खोप विकसित गर्न लागिरहेको टिमका प्रमुख एन्ड्रयु पोलार्डले भने, ‘चिकित्सकीय अनुसन्धान सही दिशामा अघि बढिरहेको छ । हामी वृद्ध मानिसमा पनि खोप परीक्षण सुरु गर्न गइरहेका छौं । जसबाट हामी पूरै जनसंख्यालाई सुरक्षा गर्न सक्छौं या सक्दैनौं भन्ने जानकारी हुनेछ ।
औषधि निर्माता एस्ट्राजिनसाले अक्सफोर्ड विश्वविद्यालयसँग ४० करोड खोपका लागि सम्झौता गरेको छ । खोपको विकास, उत्पादन र वितरणका लागि अमेरिकी सरकारको एक एजेन्सीले पनि एक अर्ब डलर लगानी गरेको छ ।
कोरोना भाइरसको उपचारका लागि करिब एक दर्जन खोप मानिसमा परीक्षणको चरणमा या परीक्षण सुरु हुने चरणमा रहेका छन् । जसमध्ये अधिकांश अमेरिका, चीन र युरोपेली देश र अन्य एक दर्जन अन्य खोप विकासको सुरुआती चरणमा छन् ।
अक्सफोर्ड विश्वविद्यालयका तर्फबाट खोपमा नोक्सान नपुर्याउने चिम्पान्जी कोल्ड भाइरसको प्रयोग गरिएको छ । यसमा शरीरमा कोरोनाविरुद्ध लड्न प्रतिरोधात्मक प्रोटिन विकास गर्ने गरी परिवर्तन गरिएको छ ।
चिनियाँ कम्पनीले यसैप्रकारको खोप विकास गरिरहेको छ । यसका साथै अमेरिकास्थित नेशनल इन्स्टिच्युट अफ हेल्थ एन्ड मोर्डेना इन्क र इनोभियो फर्मास्युटिकल पनि खोप विकास गर्ने अभियानमा छ ।
संसारभरी खोपमा ठूलो लगानी भइरहेको छ । यो सफल भएमा केही महिनामा संसारभर खोप उपलब्ध हुनेछ भने असफल भएमा ठूलो लगानी खेर जानेछ ।