एजेन्सी, जेठ ९-चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य नतोक्ने भएको छ । शुक्रबारबाट सुरु भएको वार्षिक संसदीय बैठक नेशनल पिपुल्स कंग्रेसमा करिब ३ हजार प्रतिनिधि सामेल रहेका छन् ।
एनपीसीको बैठकले बजेट स्वीकृत गर्छ भने आर्थिक वृद्धिको लक्ष्य समेत निर्धारण गर्दै आएको छ । तर यो वर्ष चीनले आर्थिक वृद्धिको लक्ष्य निर्धारण नगर्ने घोषणा गरेको हो ।
प्रधानमन्त्री ली खछ्याङले भने, ‘देश यतिबेला केही अप्ठ्याराहरुको सामना गरिरहेको छ । यस्तो अनिश्चितताको समयमा प्रगतिको अनुमान लगाउनु कठिन कुरा हो । कोभिड–१९ का कारण विश्वभरको अर्थव्यवस्थामा असर परेको छ र कारोबारमाथि नराम्रो असर परेको छ ।’
चीनको बजेट घाटा गत वर्षको तुलनामा बढेको छ । सन् १९९० पछि चीनले आर्थिक वृद्धिको लक्ष्य प्रकाशित गर्न सुरु गरेको हो । त्यसयता लगातार आर्थिक वृद्धिदर हासिल गरेको चीनले वार्षिक लक्ष्य तय गर्दै आएको थियो । चीनले जीडीपीको कुनै लक्ष्य तय नगरेको यो पहिलो घटना हो ।