काठमाडौं, ८ जेठ-शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट निको भएर बिहीबार ४ जना घर फर्किए । ४ जनामै सुरुदेखि नै लक्षण देखिएको थिएन । तर कोरोना भाइरस पोजिटिभ देखिएको थियो ।
डिस्चार्ज हुँदा उनीहरुका परिवार पनि आए । कतिपय परिवारका सदस्यले परीक्षणका लागि स्वाब दिएर गए । ‘अन्तिम रिपोर्ट नेगेटिभ आएपछि उहाँहरु खुसी हुनुभयो,’ अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने ।
‘डिस्चार्जपछि कोरोना जितेका एक जनाले डाक्टरसँग भने, ‘डा. मलाई त कुनै लक्षण नै देखिन । कोरोना भाइरस लागेको होइन जस्तो छ । भाइरस भएपछि त लक्षण देखिनु पर्ने होइन र ?’
कोरोना संक्रमण भेटिएका ८० प्रतिशतलाई सामान्य लक्षण देखिएको डा. राजभण्डारीले बताए । उनले भने, ‘सबैलाई सबै लक्षण देखिदैँन ।’ अब टेकु अस्पतालमा एक जना संक्रमित बाँकी छन् । उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।