जनकपुर, ४ जेठ-शनिबार संक्रमण देखिएका धनुषाका २ जना व्यक्तिले झुटाे विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या देखिएको छ । ती २ जना संक्रमितले सुरुमा आफूहरू चितवनबाट आएको बताए पनि जनकपुरस्थित कोभिड विशेष अस्पतालमा आउँदा उनीहरूले आफूहरू मुम्बईबाट आएको स्वीकार गरेका छन् ।
धनुषाको नगराइन नगरपालिका– ५ स्थित प्रादेशिक क्वारेन्टाइनमा रहेका दुवै संक्रमितले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेतलाई आफूहरू ९ वैशाखमा चितवनबाट आएको भन्दै झुटाे विवरण दिँदै आएका थिए ।
संक्रमित दुवै धनुषाको नगराइन नगरपालिका–९ स्थित घोडघासका हुन् । दुवै संक्रमित ओभरसियर पढ्ने विद्यार्थी हुन् । उनीहरूले चितवनबाट साइकल चढेर धनुषा आएको भनी झुटाे विवरण दिएका थिए ।
उनीहरूले चितवनको देवकोटा चोकस्थित आदिकवि भानुभक्त क्याम्पसमा ओभरसियर पढ्ने विद्यार्थी भएको बताएका थिए । उनीहरू लकडाउन हुनुअघि बाहिर कोठा भाडामा लिएर बस्ने गरेका थिए ।
चितवनमा भाडामा बस्दा महोत्तरी र सिरहाका समेत १–१ जना उनीहरूसँग बस्ने गरेका जस्ता झुटो विवरणसमेत दिएका थिए । प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रवक्ताले उनीहरू मुम्बईबाट आएको जानकारी दिए ।
उनीहरूलाई मोटरसाइकलमा चढाएर सीमाबाट क्वारेन्टाइनसम्म ल्याउने व्यक्ति सम्पर्कमा आएपछि उनीहरूको पोल खुलेको थियो । त्यसपछि भने उनीहरूले वास्तविक कुरा बताएका थिए ।
ती दुवै जना चितवनबाट नभएर भारतको मुम्बईबाट आएको खुलेको छ । मुम्बईमा उनीहरू मजदुरी गर्ने गरेका थिए । उनीहरू आउने क्रममा धनुषाको बेलामा खानासमेत खाएको कुरा खुलासा भएको छ ।