टिपरकाे ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु - News Birat

टिपरकाे ठक्करबाट ड्युटीमा खटिएका सईको मृत्यु

न्यूज विराट

भक्तपुर, १३ जेठ-टिपरको ठक्करबाट मध्यपुर थिमि-४ नयाँथिमीमा प्रहरी नायब निरीक्षकको ज्यान गएको छ । सोमबार राती काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख ४७०१ नम्बरको खाली टिपरले ठक्कर दिँदा ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती मगरको ज्यान गएको हो ।

पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रहेका सई घर्तीमगर महानगरीय प्रहरी वृत्त थिमीमा कार्यरत थिए ।महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख डीएसपी ऋषिराम कँडेलका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनलाई तत्काल मध्यपुर अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेर नर्भिक अस्पताल पुर्‍याइएकोमा राती नै मृत्यु भएको हो ।

सईलाई ठक्कर दिने टिपरसँगै सोही दिशातर्फ आउँदै गरेको बा४ख ४३१८ नम्बरको मिनी टिपर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सईलाई ठक्कर दिएर फरार भएका टिपर चालक धादिङका राजेन्द्र प्याकुरेललाई कौशलटार र अर्को टिपरका चालक भक्तपुर नगरपालिका–३ का राकेश सैंजूलाई सल्लाघारीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles