एजेन्सी, जेठ ४-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेश मन्त्रालयका आइजी (इन्सपेक्टर जनरल) स्टिभ लिनिकलाई बर्खास्त गरेको घटनाको छानबिन हुने भएको छ ।
डेमोक्रेट सांसदहरुले ट्रम्पले नियामक निकायका अधिकारीलाई ट्रम्पले निहीत स्वार्थका लागि बर्खास्त गरेको आरोप लगाउँदै छानविन गर्ने बताएका छन् । लिनिकले विदेशमन्त्री माइक पोम्पेओले शक्तिको दुरुपयोग गरेको विषयमा छानविन सुरु गरेको विषय बाहिर आउनेवित्तिकै उनलाई ट्रम्पले बर्खास्त गरेका थिए ।
उनी बर्खास्त हुनु भन्दा केहीअघिमात्रै तल्लो सदनको विदेश सम्बन्ध समितिका अध्यक्षले स्टिभले विदेशमन्त्री पोम्पेओले शक्तिको दुरुपयोग गरेको भन्ने सम्बन्धमा अनुसन्धान थालेको बताएका थिए।
राष्ट्रपति ट्रम्पले उनमा आफ्नो विश्वास नरहेको भन्दै शुक्रबार पदबाट बर्खास्त गरेका थिए । ट्रम्पको सो कार्यप्रति डेमोक्रेट नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।
स्टिभ पूर्वराष्ट्रपति बाराक ओबामाको कार्यकालमा नियुक्त भएका हुन् । उनले विदेश विभागमा हुने गरेका खर्च तथा व्यवस्थापनमा हुने कमजोरीको निगरानी गर्दै आएका थिए ।