काठमाडौं, १ जेठ-नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र निकै कमजोर अवस्थामा पुगेको भन्दै तत्काल राहतको कार्याक्रम ल्याउनको लागि सरकारसँग माग गरेको छ ।
महासंघले नेपालको अर्थतन्त्र ‘कोमा’मा जाने स्थितिमा पुगेको भन्दै पुनरुद्वार र पुनरउत्थानका कार्यक्रम ल्याउन माग गरेको हो । बिहीबार महासंघले प्रदेश च्याप्टर र स्थानीय उद्योगीसँग छलफल गरेपछि सरकारलाई यस्तो सु्झाव दिएको हो ।
अर्थतन्त्रलाई बचाउन सरकारले आगामी बजेटमार्फत् पर्याप्त प्याकेज ल्याउन आग्रह गरेको छ । महासंघले उद्योगी व्यवसायीका कुरालाई नसुनीएमा आउँदा दिनमा मुलुक आर्थिकरूपमा निकै ठूलो समस्यामा जान सक्ने चेतावनी दिएको छ ।
विश्वका अधिकांश राष्ट्रले उद्योग व्यवसायसहित अर्थतन्त्रको संरक्षणका लागि महत्वपूर्ण राहत कार्यक्रम घोषणा गरी सकेको तर सरकारले भने अहिलेसम्म पनि आकर्षक ‘स्टिमुलस प्याकेज’ ल्याउन नसकेको भन्दै आगामी बजेटमार्फत् त्यस्ता कार्यक्रम आउनेमा निजी क्षेत्र आशावादी रहेको जनाएको छ ।