काठमाडौं, १ जेठ-नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ । बिहीबार बिहान नै कपिलवस्तुकी ६ वर्षीया बालिका र काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।